नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपाको विवाद चरम बिन्दुमा

बुधबार, ०३ मङि्सर २०७७    Capital Live News



नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
तस्विर: सचिवालय बैठक

काठमाडौं, मंसिर ०३।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बै‌ठक बालुवाटारमा सुरु भएको छ। कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार भर्खरै बैठक बालुवाटारमा सुरु भएको हो। 

बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले गरेको प्रस्तावमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नजनाएपछि निर्धारित समयमै बैठक सुरु भएको हो।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताकै बीच आरोप–प्रत्यारोपले नेकपाको विवाद चरम बिन्दुमा पुगेको छ। 

ओली पक्षका नेताहरू दाहालको प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन्। बुधबारको बैठकमा समेत ओलीले उक्त प्रस्ताव फिर्ता गर्न अनुरोध गर्ने अनुमान गरिएको छ। प्रचण्डले २८ गतेको बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव ‘प्रस्ताव’नभएर ‘कथित आरोपपत्र’ भएको ओली पक्षको बुझाइ छ। 

केही समयअघि मात्र प्रधानमन्त्री ओलीले शीतल निवासमा राष्ट्रपति भण्डारीसँगको छलफल गरेका थिए। दिउँसो तय भएको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठक अगाडि ओली शीतल निवास पुग्नुलाई महत्वका साथ हेरिएको हो।

प्रतिकृया दिनुहोस