बैतडीको सिगासमा सामूहिक बलात्कारमा परेकी किशोरीको चिन्ता : ‘समाजमा अब कसरी मुख देखाऊँ ?’

बिहेको ६ महिनामै बच्चा

बिहिबार, २२ असोज २०७७    Capital Live News



बैतडीको सिगासमा सामूहिक बलात्कारमा परेकी किशोरीको चिन्ता : ‘समाजमा अब कसरी मुख देखाऊँ ?’
फाइल तस्विर

धनगढी, असोज २२।

सत्र वर्षको उमेर, सामूहिक बलात्कारको पीडा । त्यसपछि विवाह । बिहेको ६ महिनामै बच्चा । त्यसैका कारण घरबाट निकाला ।

सम्हाल्नै नसकिने बज्रपातहरूको एकपछि अर्को सिकार भएकी बैतडीको दुर्गम सिगास गाउँकी किशोरी घर न घाटकी भएकी छन् । सामूहिक करणीमा परेकाले जन्मेको शिशुको बाबु चिनाउन सकेकी छैनन्, राज्यसँग न्याय माग्ने ल्याकत पनि उनीसँग छैन ।

घर, माइती, समाज र आफन्त सबैबाट छुट्न पुगेपछि लामो समयदेखि अस्पतालमै बसिरहेकी उनलाई हरेक पल एउटै प्रश्नले चिथोर्छ, ‘अब कहाँ जाने ?’ यस्तो अवस्थाकी उनलाई जिल्ला अस्पताल बैतडीका कर्मचारी दिनहुँजसो आएर टोकस्छन्, ‘अब बढीमा एक महिना मात्र यहाँ बस्ने हो, अर्को महिना त घर जानुपर्छ ।’

अस्पतालको बसाइ सकिने दिन जतिजति नजिकिँदै छ, उनलाई भने घर फर्कंदा आफन्त र समाजले कस्तो व्यवहार गर्ने हुन् भन्ने चिन्ताले सताउन थाल्छ । भदौदेखि जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा आश्रय लिएर बसेकी उनको दैनिकी आगामी कठिन यात्राको चिन्तामा बित्ने गरेको छ ।

कलिलो अनुहार, शान्त अनि लजालु स्वभावकी उनी आफ्नै गाउँमा आफैंलाई पढाएका शिक्षकसमेत पाँच जनाबाट सामूहिक बलात्कारमा परेपछि निरन्तर दुःखमा छिन् । बलात्कारमा संलग्न सबै जना पुर्पक्षका लागि जेल चलान भएका छन् तर किशोरीले त्यो पीडा भुल्न सकेकी छैनन् । त्यसमाथि बिहे गरेको ६ महिनामै जन्मेकी दुईमहिने छोरीलाई काखी च्यापेर घर कसरी फर्कने भन्ने पीरले उनलाई सताएको छ । ‘एक म्हिनाभन्दा बढी भइसक्यो अस्पताल बसेको,’ उनले भनिन्, ‘अस्पतालकै क्यान्टिनमा खाना–खाजा खान्छु, बस्ने व्यवस्था राम्रो छ तर जब गाउँ–समाजमा फर्कने कुरा सम्झन्छु, कसरी मुख देखाउने भनेर पीरले सताउँछ ।’ अब घरकाले के गर्ने हुन्, काखमा
छोरी छे, के गरेर घरबार हुने हो भन्ने चिन्ताले छोप्ने गरेको उनी बताउँछिन् ।

आफ्नो कहालीलाग्दो विगतबारे भेउ पाएपछि उनको वैवाहिक जीवन बिथोलिने नै भयो तर उनका पति उनले हाल पाएको दुःखले केही पग्लिएका रहेछन् । हालै जबर्जस्तीबाट जन्मेकी भए पनि छोरी र उनलाई सकार्छु भन्ने संकेत दिएका छन् । ‘जे भए पनि मैले बिहे गरेको हुँ, उनी र बच्चा दुवैलाई म सकार्छु,’ उनका पति भन्छन्, ‘तर पहिला अपराधीहरूलाई सजायचाहिँ हुनुपर्‍यो ।’

श्रीमान्को कुराले उनलाई केही आशा दिएको छ तर समाजको पीरले डर पनि थपिदिएको छ । ‘श्रीमान्ले आफूसँगै राख्छु भनेकाले घरै जाने सोचिरहेको छु,’ उनले मनको तर्कना सुनाइन्, ‘मैले जे–जस्तो दुःख पाए पनि मलाई नै सबैले गाउँमा नराम्रो त भन्ने होलान् नि १ एक जनासँॅग बिहे गरी अरूकै बच्चा जन्माई पनि भन्ने होलान् । बलात्कार गर्नेहरूले गरेको गल्ती त कसले पो भन्ने हो र ?’

बिहेअघि ती पाँच जनाले दिन बिराएर आफूलाई बलात्कार गर्ने गरेको पीडा उनी रुँदै सुनाउँछिन् । ‘पहिलो दिन घरनजिकैको जंगलमा भेट्टाएर एक जनाले जबर्जस्ती गरेपछि फेरि अरू दिन अरूले आफूलाई एकान्तमा भेट्टाएको बेला त्यसै गरे,’ उनले भनिन्, ‘मलाई कति धेरै पीडा भएको थियो । घरमा वा कसैलाई भनिस् भने मारिदिन्छौं भनेर सबैले भन्न थाले । डर लाग्यो, कसैलाई भन्न सकिनँ । उनीहरूले यसकै फाइदा उठाइरहे ।’

यसरी यी अबलाको शरीर लुछ्नेमा अरू कोही नभएर उनैलाई ६ देखि ८ कक्षासम्म पढाउने शिक्षक, गाउँपालिकामा काम गर्ने कर्मचारी र गाउँकै अरू तीन जना थिए ।

बलात्कारमा परेपछि उनको महिनावारी रोकिएको थियो तर पेटमा बच्चा हुर्केको उनलाई थाहा भएन । ‘मलाई थाहा थिएन, महिनावारी भइहाल्छ होला भन्ने लागेको थियो, तर बच्चा बसेछ,’ उनले भनिन्, ‘त्यस घटनाको अलि पछि पहिले नै चिनजान भएको केटासँग बिहे गरें, पेटमा बच्चा भएको थाहा थिएन ।’

बिहेको केही महिनामै उनको पेट ठूलो हुन थाल्यो । बच्चाले पेटमा हान्न थाल्यो । तब उनलाई बोध भयो, पेटमा ती पाँच अपराधीमध्ये कसैको बच्चा हुर्किरहेको छ । यो थाहा पाएपछि उनको गुप्त पीडा झनै बढ्यो । अरूले पनि थाहा पाइहाले । छोरी जन्मेपछि भने उनले आफूमाथि भएको घटना सुनाइन् । यसबारे थाहा पाएपछि प्रहरीले किशोरीलाई उद्धार गरेको थियो ।

उनलाई उद्धार गरेलगत्तै बलात्कारमा संलग्न खड्कसिंह बोहरा, दानबहादुर बोहरा, धनबहादुर बोहरा, केशव बोहरा र रामसिंह बोहरालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । अहिले जिल्ला अदालतको आदेशअनुसार सबै जना पुर्पक्षका लागि कारागार चलान भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।

यो सुन्दा पीडामा केही कमी आएको उनले सुनाइन् । ‘छुटेर आयौं भने त मारिदिन्छु भनेका छन् रे,’ उनी भन्छिन्, ‘उनीहरू छुटे भने मलाई डर हुन्छ । उनीहरूका आफन्तले पनि केही गर्ने हुन् कि भन्ने डर छ ।’ किशोरीलाई अब कता पठाउने के गर्ने भन्ने कुरा कानुनअनुसार अगाडि बढ्ने डीएसपी अधिकारीले बताए ।  कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस